The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

आत्महत्या गर्ने सोंच भएकी अष्ट्रेलियन महिलालाई नेपाल भ्रमणले दियो बाँच्ने चाह
अष्ट्रेलियाकी एक महिलालाई नेपालले पुनर्जन्म दिएको छ। डिप्रेसनमा पुगेर आत्महत्याको मानसिकता बोकेकी ती महिलालाई नेपालले लामो आयू बाँचेर अरुको मुहारमा हाँसो ल्याइदिन प्रेरित गरेको छ।
५७ वर्षिया क्याथरिन लोवे आफ्नो स्वास्थ्यमा आएको समस्या र श्रीमानसंगको सम्बन्धले विक्षिप्त भएकी थिईन् । उनी आत्महत्या गरेर आफ्नो जीवन समाप्त गर्न चाहन्थिन् । गुड न्युज नेटवर्कका अनुसार, भ्रमण गर्न मन पराउने आफ्नी बहिनी नेपाल जान चाहेको थाहा पाएपछि उनले डिप्रेसनमा जान लागेको आफ्नो स्थितिलाई केही हदसम्म सान्त्वना मिल्छ की भन्ने सोंचले बहिनी संगै घुम्नको लागि नेपाल आउने निधो गरिन् ।
अष्ट्रेलियाबाट काठमाडौं उत्रिएका क्याथरिन र उनकी बहिनी ट्रेकिंगको लागि हिमालय जान निस्के । तेञ्जिङ्ग हिलारी एयरपोर्टमा उत्रिएका उनीहरु १० घण्टाको ट्रेकिंग पछि लुक्लाको गाउँमा पुगे । मौसम परिवर्तन, खानपिनमा परिवर्तन, थकानले गर्दा उनीहरुको अर्को दिनको पैदल यात्रा स्थगित भयो । त्यो स्थगित यात्राले नै उनको जीवनमा नयाँ मोड लियो ।
बिरामी परेर गेस्ट हाउसमा बस्ने भएपछी क्याथरिनले स्थानियहरुसंग भेटघाट गर्ने र उनीहरुको जीवनशैली बारे बुझ्ने मौका पाइन् । गेस्ट हाउसका मालिकका छोरा मार्फत उनले त्यो गाउँको दयनिय शैक्षिक अवस्थाबारे थाहा पाइन् । एउटा आठ वर्षको बालक महिनाको १५ डलर शुल्क तिर्न नसकेर स्कुल जान पाएको छैन भन्ने सुन्दा उनको मन पोल्यो । उनले यो अवस्थामा तत्काल के सहयोग गर्न सकिन्छ भनेर बुझिन् र सुझाव अनुसार छात्रवृत्ति सहयोग गरिन् ।
आफ्नो केही सहयोगले बालबालिकालाई शिक्षाको अवसर प्रदान गर्न सकिने देखेपछि, डिप्रेसन र रोगहरुको भारि बोकेर मन बहलाउन नेपाल भ्रमणमा निस्किएकी क्याथरिन त्यहाँको शैक्षिक अवस्था उकास्नमा लागिरहेकी छिन् । परिवार, साथीभाइको सहयोगमा क्याथरिनले त्यहाँ विद्यालय भवन निर्माण समेत गरेकी छिन् । उनले अहिले विद्यालयको मुहार नै फ़ेरिदिएकी छिन् र साथसाथै उनको जीवनको सोंचाई र लक्ष्य पनि फेरिएको छ।