
सफलताको शिखरमा पुग्नुछ भने, डलरको चिप्लोमा नचिप्लीनुहोस् !
घर छोड्ने र बाटो मोड्ने देश हो अस्ट्रेलिया ।
घर छोड्ने र बाटो मोड्ने देश हो अस्ट्रेलिया । विदेशमा सबैजना सपना बोकेर आउँछन् । तर यहाँ आएर ती सपनाहरु विस्तारै गायब हुँदै जान्छन् र ती सपनाहरुको ठाउँ डलरको सपनाले ओगट्छ । अनि सपना पूरा गर्ने व्यक्ति यहाँ आएपछि निदाउन समेत भ्याउँदैन ।
यहाँ आउन नपाउंदै सुरु हुन्छ, दौडधुप । सुरुसुरुमा त एउटा ट्रेन छुट्यो भने काम नै छुट्ला भन्ने डर । धन्न, अलि पूरानो हुँदै गएपछि साहुको विश्वास जित्न सकियो भने केही समय ढिला पुगेर पनि केही हुँदैन है । तर, त्यो साहुको विश्वास जित्ने बनुन्जेल, तपाईंका सपना ओझेलमा परिसकेका हुन्छन् र तपाईंको उद्देश्य नै त्यहि साहुको काममा केन्द्रित भइसकेको हुन्छ।
अनि सुरु हुन्छ तपाईंको नयाँ यात्रा । गन्तव्य उही, तर बाटो फरक। ‘ ह्या, लास्टमा जे गरेर पनि त्यहि पैसै कमाउने हो, यही कामबाट पैसा आएको छ , किन पढ्नु बेकारमा ! अझ फी पनि बुझाउनुपर्ने’ , यही सपनाले कैयौं नेपालीको सपना नै फेरिन्छ। अनि विद्यार्थी भिसा केवल हाजिरीमा सिमित हुन्छ । सुरु हुन्छ, कलेज परिवर्तन गर्ने लहर र खोजिन्छन् हाजिरीले फरक नपार्ने अनि सजिलै पास हुन सकिने कलेज ।
किचनमा छिरेर पैसा कमाएको मान्छे यसैमा पैसा छ भनेर त्यही किचनमा जिन्दगी बिताउन तयार हुन्छ । कुनै सिप र कुनै अनुभव बिना आएको मान्छेले काम पाउने भनेको किचनमै हो। सीप नसिकी आएका नेपालीहरु त्यहि किचनतिर नै भेटिन्छन् । कोही सीप सिकिसकेका हुन्छन् भने भर्खर आएकाहरु सिक्दै गरेका भेटिन्छन् ।
दुई / तीन हप्ता अगाडी मात्र नेपालबाट आएको एकजना भाइ, कामकै सिलसिलामा मैले काम गर्ने ठाउँमा आइपुग्यो । उसले मलाई सोध्दै थियो, ‘ दाई ! ट्रायलको लागि जता पनि जान्छु, नेपाली नै देख्छु । किन धेरै नेपाली किचनमा नै काम गर्छन् ? ‘।
दुई / तीन हप्ता अगाडी मात्र नेपालबाट आएको एकजना भाइ, कामकै सिलसिलामा मैले काम गर्ने ठाउँमा आइपुग्यो । उसले मलाई सोध्दै थियो, ‘ दाई ! ट्रायलको लागि जता पनि जान्छु, नेपाली नै देख्छु । किन धेरै नेपाली किचनमा नै काम गर्छन् ? ‘। अनि मैले उसलाई सोधें ,’ तिमी चाहिं किन आएको नि किचनमा काम गर्न ?’ । मुसुक्क हाँस्दै उसले जवाफ दियो ,’ अरु काम त, केही आउने भए पो त ! यो चाहिं १/२ पटक सिकायो भने आउँछ रे, त्यसैले आफूलाई पैसा चाहिएको छ, आउनै पर्यो । त्यसमाथि झन् सिक्दै जाँदा प्रमोशन नि हुनेरहेछ’ ।
त्यो भाइको कुरा सुनेपछि सम्झाएँ मैले उसलाई, ‘ मेरा ती दिनमा पनि मैले त्यस्तै भन्थें । के-कति सपना बोकेर आएको मान्छे डलरको मोहले गर्दा यतै अल्झिएँ। न त सपना पूरा हुनेभयो, न त डलरको मोह । अझै पनि उस्तै र उती नै काम गर्दैछु, जुन मैले सुरुमा सपना बोकेर आउँदा गर्थें। घर किनेर, गाडी चढेर हिडेतापनि पैसाको मोह अझै पूरा भएको छैन। तर आजकल माया लाग्छ, त्यो मैले छोडेको सपनाको, मैले मोडेको बाटोको । खोइ के पूरा भयो त मेरो ? न पैसाको मोह, न त सपना ‘।
यो मेरो भोगाइ हो । तर सबैले यस्तै भोगेका छन् या भोग्नेछन् भन्ने छैन । मेरो जस्तो भोगाइ बन्नुभन्दा पहिले आफ्नो कुनै योजना बनाउनुहोस् र आफूलाई कसरि हुन्छ, त्यही योजना अनुसार अगाडी बढाउनुहोस् । ता कि, ५ /१० वर्षपछि फर्केर हेर्दा, तपाईंलाई तपाईंको सपना अनि तपाईंले मोडेको बाटोको यादले नसताओस्।
सफलताको शिखरमा पुग्नुछ भने, डलरको चिप्लोमा नचिप्लीनुहोस् !
नाम नखुलाइ राखिएको । अस्ट्रेलिया सम्बन्धित आफ्नो लेख पठाउनु हुन् हामीलाई info@ausmandu.com मा इमेल गर्नुहोस ।