अस्ट्रेलियामा पढ्ने अन्तर्राष्ट्रिय विद्यार्थी मध्ये आधा विद्यार्थीले आर्थिक तनाव झेल्नुपरेको तथ्यांक सार्वजनिक भएको छ । युनिभर्सिटीज अस्ट्रेलियाले गरेको स्टुडेन्ट फाइनान्स सर्भेको रिपोर्टमा यस्तो तथ्याङ्क देखिएको हो ।
उक्त रिपोर्टका अनुसार, अस्ट्रेलियाका युनिभर्सिटीमा पढ्ने अन्तर्राष्ट्रिय विद्यार्थी मध्ये ४९.१ प्रतिशत विद्यार्थीले आर्थिक तनाव भोगिरहेका छन् । आर्थिक तनाव भोग्नेमा अधिकांश अन्डरग्राजुएट तहका विद्यार्थीहरु छन् । ती विद्यार्थीहरुले गाडी भाडा, घर भाडा, युनिभर्सिटीको शुल्क आदि तिर्ने पर्ने भएका कारण, ती कुरामा पैसा मिलाउँदा , खाना खानको लागि पैसाको अभाव हुने समेत बताएका छन् ।
उक्त सर्भेको लागि ६ हजार ८ सय जना अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई सहभागी गराइएको थियो । उनीहरु अस्ट्रेलियाको पीआर नपाएका, न्युजिल्याण्ड भन्दा बाहिरका विद्यार्थीहरु थिए । ती विद्यार्थीहरु मध्ये ५५ प्रतिशत महिला विद्यार्थी थिए, ५१ प्रतिशत विद्यार्थीको उमेर २० देखि २४ वर्ष थियो भने २२ प्रतिशत विद्यार्थी म्यानेजमेन्ट तथा कमर्स विषयका थिए ।