
अस्ट्रेलियाबाट सुशील चालिसेको साहित्यिक कोसेली, नेपाली मुक्तक संग्रह ‘गुराँसहरु पलाँसहरु’
साहित्यप्रेमीहरु माझ अस्ट्रेलियाबाट नेपाली मुक्तक संग्रह ‘गुराँसहरु पलाँसहरु’ आउने भएको छ । मुक्तककार सुशील चालिसेको यो पहिलो कोशेली हो । हाल अस्ट्रेलियाको मेलबर्नमा बस्दै आएका मुक्तककार सुशील चालिसे नेपालको भक्तपुर कटुन्जेमा जन्मिएका हुन् ।
अस्ट्रेलियाको व्यस्त जीवनशैलीमा पनि आफ्नो साहित्यिक रुचीलाई निरन्तरता दिंदै आएका चालिसे भन्छन् ,’ हजुरबुवा चक्रपाणी चालिसे वरिष्ठ साहित्यकार भएको कारण पनि मलाई साहित्य तर्फ बढी रुची जाग्यो । त्यसैले विदेशमा रहेता पनि नेपाली साहित्य तर्फको मेरो लगाव मर्न सकेन । र, परिणाम स्वरुप यो गजल संग्रह जन्मियो । यसमा मैले समाजका विभिन्न कुराहरुलाई आफ्नो भावना संगै पस्किएको छु। ‘ उनले यस मुक्तक संग्रह विमोचन गर्नको लागि विभिन्न संघसस्था तथा शुभचिन्तकहरुले साथ दिइरहेको देख्दा साहित्य कर्मलाई थप अगाडी बढाउन हौसला मिलेको बताए।
यस मुक्तक संग्रह विमोचन कार्यक्रमलाई सेभेन इपिक इन्टरटेनमेन्टले आयोजना गरेको हो । जसलाई मेलबर्न नेप्लिज कम्युनिटी वेस्टले संयोजन गरेको छ भने लामो समय देखी नेपाली विद्यार्थी र नेपाली समुदायको सहयोगको निम्ति काम गर्दै आएको बिएमडब्लु एजुकेशनल कन्सल्टेन्सीले प्रायोजन गरेको छ ।
साहित्यकार चालिसेका अनुसार, उक्त कार्यक्रममा बिक्रि हुने पुस्तकहरुबाट उठेको रकमको ५०% प्रतिशत रकम नेपाली बालबालिकाहरुका लागि सामाजिक कार्य संचालन गर्दै आएको NAV Baal Chautari West लाई हस्तान्तरण गरिनेछ। यसरि पुस्तक विमोचनलाई सामाजिक कामको रुपमा समेत अगाडी बढाइएकोले आफूहरु कार्यक्रमको लागि थप उत्साहित रहेको आयोजकहरु बताउँछन् । उनीहरुले साहित्यिक मीठास लिनुका साथै सामाजिक काममा आफ्नो केही योगदान पुर्याउनको लागि यस कार्यक्रममा उत्साहका साथ सहभागी हुन नेपाली समुदायलाई अनुरोध समेत गरेका छन् ।
कार्यक्रम आगामी जुलाई ७ शनिबारका दिन eCyprus Community of Melbourne & Victoria Pty Ltd , 495 Lygon St, Brunswick East VIC 3057 मा हुनेछ । कार्यक्रम बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म चल्नेछ ।