अस्ट्रेलियाका युनिभर्सिटिमा पढ्ने विद्यार्थीहरु भोकै बस्ने समाचार पढेपछि एक भारतीयले आर्थिक अभावको समस्यामा परेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई नि:शुल्क खाना दिन थालेका छन् ।
अनिल शर्मा एक रेस्टुरेन्ट व्यवसायी हुन् । भारतको लुधियानाका उनी सन् १९९२ मा अस्ट्रेलिया आएका थिए । इन्जिनियर भएतापनि उनी श्रीमती मन्जुसंग मिलेर होबर्टमा एक रेस्टुरेन्ट संचालन गर्छन् ।
युनिभर्सिटीका विद्यार्थी पैसाको अभावमा भोकै रहने गरेको थाहा पाएपछि उनले आफ्नो रेस्टुरेन्टमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुको लागि नि:शुल्क खानाको व्यवस्था गरेका हुन् । नि:शुल्क खानाको लागि विद्यार्थीले आफ्नो परिचयपत्र लिएर जानुपर्नेछ । आइतबार देखि बिहिबारसम्म साँझको समयमा आर्थिक अभावको समस्यामा परेका विद्यार्थीले नि:शुल्क खाना पाउनेछन् र खाना शुद्ध शाकाहारी हुनेछ ।
उनले विद्यार्थीहरुको अवस्थाले आफू दुखी भएको र सबैजनाको लागि गर्न नसकेपनि केहीको लागि आफ्नो तर्फबाट सहयोग गर्न सक्ने सोंचेर यो कार्य सुरु गरेको बताएका छन् ।