
अस्ट्रेलियामा २२ वर्ष बसेका एक भारतीय व्यक्ति नागरिकताको लागि अयोग्य
भारतका एक व्यक्ति अस्ट्रेलियामा २२ वर्षसम्म बसेर पनि नागरिकताको लागि अयोग्य ठहरिएका छन् । नाम नखुलाइएका ती व्यक्ति सन् १९९६ मा अस्ट्रेलिया आएका थिए । त्यसपछि सन् २०११ को मे महिनामा उनले पीआर पाए ।
उनका तीन सन्तानले यहाँको नागरिकता पाइसकेका छन् । तर ती सन्तानलाई जन्माएर हुर्काएका, परिवारलाई अस्ट्रेलियामा स्थापित गराएका उनी आफू भने नागरिकताको लागि अयोग्य ठहरिएका छन् । उनले सन् २०१७ को फेब्रुअरी महिनामा नागरिकताको लागि आवेदन दिएका थिए ।
एक रेस्टुरेन्टमा सेफको काम गर्ने ती भारतीय माथी सन् २००७ मा आफू संगै काम गर्ने महिलाहरुमाथी हिंसा गरेको आरोप लागेको थियो । त्यसको लागि उनलाई सजाय पनि सुनाइएको थियो । तर, उनले आफूमा सुधार ल्याएको, राम्रो व्यवहार गरेको कारण सजाय मिनाह गरिएको थियो ।
ती भारतीयले नागरिकताको आवेदनको चारित्रिक परिक्षणमा विगतमा आफू कुनै अपराधिक गतिविधिमा संलग्न नभएको उल्लेख गरे । तर रेकर्डमा भने सन् २००७ मा भएको घटना देखियो । उनले आवेदनमा झुट लेखेको ठहर गर्दै नागरिकताको लागि अयोग्य भएको निर्णय सुनाइएको हो ।
ती भारतीयले भने उक्त आवेदन आफ्नो वकिलले तयार गरेको र आफूले हिन्दि भाषामा सबै साँचो कुरा बताएको तर अंग्रेजी भाषामा अनुवाद गरिदिने अनुवादकले नगरिदिएको हुनसक्ने बताएका छन् । उनले आफू अंग्रेजी भाषामा दख्खल नभएको र परिवारलाई पहिले जानकारी नदिइ नागरिकता पाएपछि ‘सरप्राइज’ दिने योजनाका साथ नागरिकताको कागजात प्रक्रियामा परिवारका सदस्यको सहयोग नलिएका कारण आफूले यो समस्या झेल्नुपरेको बताएका छन् । Source : Sbs News