
अस्ट्रेलियाका नयाँ प्रधानमन्त्री स्कट मरिसनको बाल्यकाल, शिक्षा र राजनीतिक यात्रा
अस्ट्रेलियाको अबको नयाँ प्रधानमन्त्री लिबरल पार्टीका नेता स्कट मरिसन बन्ने भएका छन् । उनी अस्ट्रेलियाको हालसम्मको ३० औं प्रधानमनत्री र पछिल्लो एक दशकको छैठौं प्रधानमन्त्री हुन् ।
स्कट मरिसनको बाल्यकाल सिड्नीमा बित्यो । हाल ४९ वर्षीय उनको जन्म सन् १९६८ मे १३ मा भएको थियो । उनका बुवा प्रहरी थिए भने आमा प्रशासनिक पदमा काम गर्थीन् । उनका एक दाजु छन् । उनी धर्ममा निकै आस्था राख्छन् । स्कट मरिसनले सानो उमेरमा नै कलाकारिताबाट आफ्नो करियर सुरु गरेका थिए । टेलिभिजन विज्ञापनहरुमा बाल कलाकारको रुपमा देखिएका कारण, सानो उमेरबाट नै उनले मानिसहरुमाझ आफूलाई चिनाइसकेका थिए ।
सिड्नी ब्वेज हाइ स्कुलबाट स्कुलको शिक्षा पूरा गरेपछि स्कट मरिसनले युनिभर्सिटी अफ न्यु साउथ व्ह्लेसबाट एप्लाइड इकोनोमिक जेयोग्राफीमा अनर डिग्री लिएका छन् । उनले न्यु साउथ व्ह्लेस लिबरल पार्टीको स्टेट डाइरेक्टरको रुपमा चार वर्ष बिताए । त्यो भन्दा अगाडी उनले अस्ट्रेलियन पर्यटन उद्ध्योग संग सम्बन्धित थुप्रै कामहरु गरेका थिए ।
सन् २००७ मा संसद प्रवेश गरेका मरिसनले त्यसयता तीनवटा महत्त्वपूर्ण मन्त्रालयहरू सम्हालिसकेका छन्। उनले इमिग्रेसन एण्ड बोर्डर प्रोटेक्सन मिनिस्टर भएर पनि काम गरे । उक्त कार्यकालमा देशको सिमामा कडाई र डुङ्गाबाट अस्ट्रेलिया प्रवेश गर्ने नाममा हुने गरेको मानव तस्करीको रोकथामको लागि उनले गरेको कार्यलाई प्रशंसायोग्य मानिन्छ । त्यस्तै, उनले सोसल सर्भिस मिनिस्टरको कार्यभार पनि सम्हालेका थिए ।
शुक्रवारको मतदानपछि पत्रकारहरूसँग बोल्दै मरिसनले आफू पछिल्लो समय उथलपुथल झेलेको आफ्नो पार्टीलाई पहिलाकै अवस्थामा ल्याउनका लागि काम गर्ने बताएका छन्। उनले देशको पूर्वी भागमा देखा परेको खडेरीसँग जुध्न पनि अत्यावश्यक भइसकेको बताएका छन्।
Source : alchetron.com